नियम ६९
सामूहिक सौदाबाजी सम्बन्धी कार्यविधि तथा सम्झौता
:(१) नियम ६८ बमोजिम माग दाबी प्राप्त भएमा रोजगारदाता संघले समूहगत सामूहिक सौदाबाजी समितिसँग छलफल गरी सामान्यतया दाबी पेश भएको एक्काइस दिनभित्र त्यस्तो दाबी सम्बन्धी विवाद समाधान गर्नु पर्नेछ। रोजगारदाता संघ र त्यस्तो सामूहिक सौदाबाजी समितिबीच सहमति भएमा विवाद समाधान गर्नु पर्ने अवधि थप गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम विवाद समाधान नभएमा समूहगत सामूहिक सौदाबाजी समितिले  विभाग समक्ष निवेदन दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले सम्बन्धित रोजगारदाता संघ र सामूहिक सौदाबाजी समितिलाई छलफलका लागि मिति र समय तोकी सूचना दिनु पर्नेछ।
(४) विभागले उपनियम (२) बमोजिम निवेदन प्राप्त भएको तीस दिनभित्र सम्बन्धित रोजगारदाता संघ र सामूहिक सौदाबाजी समितिबीच वार्ता गराई दाबी सम्बन्धी विवाद समाधान गर्नु पर्नेछ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन वटै पक्षको सहमतिको आधारमा विवाद समाधान गर्नु पर्ने अवधि थप गर्न सकिनेछ।
(६) उपनियम (५) बमोजिमको वार्ता गराउँदा सम्बन्धित रोजगारदाता संघ र सामूहिक सौदाबाजी समितिबीच मेलमिलाप भएमा सो दाबी सम्बन्धी विवाद समाधान भएको मानिनेछ।
(७) उपनियम (६) बमोजिम भएको मेलमिलाप सम्बन्धित पक्षलाई बाध्यकारी हुनेछ।
(८) यस नियम बमोजिम विवाद समाधानको प्रक्रिया अवलम्बन गर्दा विवाद समाधान हुन नसकेमा सम्बन्धित पक्षहरूले ऐनको परिच्छेद-१९ बमोजिमको प्रक्रिया अवलम्बन गर्न सक्नेछन्।